काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन निर्माणको शिलान्यास गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार भवन निर्माणको शिलान्यास गरेका हुन् ।
भारत सरकारको पुनर्निर्माण परियोजनाअन्तर्गत अनुदान प्रणालीमा उक्त भवन निर्माण हुन लागेको हो । भारतले नेपाललाई शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलरबराबरको अनुदान सहयोग गरेको छ । पुस्तकालयप्रमुख पूर्णलाल श्रेष्ठले २०१६ सालमा स्थापित पुस्तकालयमा हाल चार लाख ३० हजार पुस्तक र चार लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसन तथा जर्नल, म्यागजिन तथा रिपोर्टहरू रहेको बताए । पुस्तकालय निर्माणपछि घरमै बसेर २४सै घण्टा अध्ययन गर्न सकिनेछ । साथै भवन अपाङ्गमैत्री बन्नेछ । केसी हनुमान जेभीले गत पुसबाट निर्माण आरम्भ गरेको छ । कुल ३६ करोड ११ लाख ६६ हजार दुई सय ९१ निर्माणमा थलिएको पुस्तकालय भवन १५ महिनामा हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।
भवनको शिलान्यास गर्दै शिक्षामन्त्री पौडेलले सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्चशिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने बताए ।