अमेरिका । रुससँग रक्षात्मक युद्ध गरिरहेको युक्रेनको अर्थतन्त्र ३५ प्रतिशतसम्म खुम्चिने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यदि रुससँगको युद्ध निरन्तर अघि बढे यो वर्ष उक्त दरमा अर्थतन्त्र संकुचित हुने जनाएको हो ।
रुसी आक्रमणकै कारण यसअघि नै युक्रेनी अर्थतन्त्रमा १० प्रतिशत संकुचन आइसकेको छ । आक्रमणले विमानस्थलहरु ध्वस्त भएका छन् भने शरणार्थी समस्या बढ्दो क्रममा छ । आईएमएफले युक्रेनलाई एक अर्ब ४० करोड डलरको आकस्मिक कोष पठाएको थियो । तर त्यहाँ अर्बौँ अरु धेरै डलर आवश्यक पर्ने देखिएको उसको भनाइ छ । यससम्बन्धी रिपोर्ट गत हप्ता स्वीकृत गरिएको थियो । यसले लेबनान, इराक र सिरियाजस्ता युद्धग्रस्त अर्थतन्त्रको हिसाबकिताब गरेको छ ।
सन् २०१४ र ०१५ मा पनि युक्रेनी अर्थतन्त्रले धक्का महशुस गरेको थियो । उक्त वर्ष क्रमशः ६.६ प्रतिशत र १० प्रतिशतले अर्थतन्त्र खस्किएको थियो । त्यतिबेला रुसले युक्रेनको क्राइमिया हडपेको थियो । युक्रेनी अर्थतन्त्र धेरै हदसम्म निर्यातमा आधारित छ । गत वर्ष तीन प्रतिशतले निर्यात वृद्धि भएकोमा यो वर्ष ३.६ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । अहिले आईएमएफले गहिरो मन्दी र ठूलो पुनर्निर्माण लागत आवश्यक पर्ने अनुमान गरेको छ ।