सुरेश राउत
काठमाडौं, माघ २८
बैंक तथा फाइनान्स कम्पनीहरुमा कर्मचारी व्यवस्थापन खर्च उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा विकास बैंक, क्षेत्रीय तथा राािष्ट्रयस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो पाँच महिनामा कर्मचारीहरुको तलब भत्तामा मात्र १७ अर्ब ५९ करोड ६० लाख रुपैयाँ सकाएका छन् ।
गत आवको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका थिए । सोही आधारमा यी बैंक तथा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्तामा १४ अर्ब पाँच करोड २७ लाख रुपैयाँ सकाएका छन् । राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा वाणिज्य बैंकहरुले भने कर्मचारीहरुको तलब भत्तामा १५ अर्ब तीन करोड रुपैयाँ सकेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कर्मचारीहरुको तलब भत्ताको लागि खर्च गरेको रकम ११ अर्ब ९६ करोड ३० लाख ७० हजार रुपैयाँ रहेको थियो ।
विकास बैंकहरुले भने चालू आवको पछिल्लो पाँच महिनामा कर्मचारीहरुको तलब भत्ता शीर्षकमा दुई अर्ब १३ करोड रुपैयाँ सकेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा विकास बैंकहरुले उक्त शीर्षकअन्तर्गत खर्च गरेको कुल रकम एक अर्ब ७२ करोड ५९ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
यसैगरी फाइनान्स कम्पनीहरुले पनि चालू आवको पछिल्लो पाँच महिनाको अवधिको कर्मचारीको तलब भत्ता शीर्षकमा ४३ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्सहरुले यस्तो शीर्षकमा खर्च गरेको कुल रकम २९ करोड ५५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा कार्यालय व्यवस्थापन शीर्षकमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले छुट्टै ११ अर्ब ९० करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । सोमध्ये वाणिज्य बैंकहरुले नौ अर्ब ९९ करोड, विकास बैंकहरुले एक अर्ब ५६ करोड ५० लाख र फाइनान्सहरुले ३४ करोड ९० लाख रुपैयाँ खर्च गरेका हुन् । गत आवको सोही अवधिमा भने कार्यालय व्यवस्थापन शीर्षकमा ११ अर्ब ३७ करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए । सोमध्ये वाणिज्य बैंकहरुले नौ अर्ब ८६ करोड, विकास बैंकहरुले एक अर्ब २१ करोड ८४ लाख र फाइनान्स कम्पनीहरुले २९ करोड ५५ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।