काठमाडौं । वीरगञ्ज महानगरपालिका– १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मीलगायत वडाका अन्य सदस्य र वडासचिवलगायतका कर्मचारीले समेत राजस्व रकम उठाएर राजस्व खातामा जम्मा नगरी व्यक्तिगत रुपमा लिएर भ्रष्टाचार गरेको खुलासा भएको छ ।
वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिसलगायतका अन्य सिफारिसबापतको राजस्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी राजस्व रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले दाबी गरेको छ ।
वडा अध्यक्ष र सहयोग दुवै जनाले राजस्व रकम भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । अख्तियारले वडा अध्यक्ष कुर्मी, वडासचिव राज कुमार सिंह, तत्कालीन वडासचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी, सञ्जय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीले चौहद्दी प्रमाणित, घरबाटो सिफारिस, विवाह दर्ता, मृत्युदर्तालगायतका सिफारिसमा एकभन्दा बढी चलानी गरी, चलानी नगरी, लिनुपर्ने राजस्व रकम नलिई, लिनुपर्नेभन्दा घटी÷बढी राजस्व रकम लिई तथा आम्दानी रसिद नकाटी आर्थिक अनियमितता गरी दाखिला गर्नुपर्ने राजस्व रकमसमेत दाखिला नगरेको अख्तियारले दाबी गरेको छ ।
अख्तियारका अनुसार त्यसरी राजस्व रकम उठाएर हिनामिना गर्नेहरु वडा अध्यक्ष कुर्मी, रफिक अंसारी, सञ्जय कुमार पटेल र जितेन्द्र कुमार कुर्मीको हकमा कार्यरत रहेको अवधिमा एक लाख दुई हजार पाँच सय ८५ रुपैयाँ हिनामिना गरी राजस्व चुहावट गरेकोले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क), (ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो एक लाख दुई हजार पाँच सय ८५ रुपैयाँ कायम गरी सोही ऐनअनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
साथै प्रतिवादी वडासचिव अनामिका रौनियार कार्यरत रहेको बेलामा एक लाख ३१ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले कैद सजाय गरी बिगो रकमको दोब्बर जरिवाना हुन एवं प्रतिवादी वडासचिव राज कुमार सिंहलाई हालसम्म कार्यरत रहेको अवधिमा ३२ हजार दुई सय ३५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोही ऐनअनुसार बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐनअनुसार आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।