काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’को नारालाई आत्मसात् गर्दै विभिन्न सामाजिक तथा आर्थिक रूपान्तरणका कार्यहरू संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सुर्य चन्द्र प्राविधिक तथा व्यावसायिक नमूना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको जानकारी दिएको छ ।
सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्याङ्क र डस्टबिन हस्तान्तरण गरिएको बैंकको साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिएका छन् । क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टबिन र पानीट्याङ्की सहयोग गरिएको हो । सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष रबिन्द्र बहादुर शाहले विद्यालयलाई धन्यवादज्ञापन गरे । आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।