काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले जलविद्युत् क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मालाई आग्रह गरेको छ ।
राजदूत शर्मासँग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि जलविद्युत् तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिएका थिए । पर्यटन आर्कषण र लगानीमार्फत भारतसँगको व्यापारघाटा न्यूनीकरण गर्नुपर्ने उनको भनाइ थियो । ‘समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ । निर्यातको हिस्सा पनि सबैभन्दा धेरै भारतसँगै ७५ प्रतिशत छ’, उनले भने, ‘चालू आर्थिक वर्षको ८ महिनामै भारतसँग व्यापारघाटा छ खर्ब ७९ अर्ब रुपैयाँ पुगिसकेको छ । व्यापारघाटा कम गर्ने एक मात्रै विकल्प भारतीय लगानीमार्फत उत्पादन वृद्धि र पर्यटन आवगमन बढाउनु हो ।’ सबैभन्दा नजिकको छिमेकी भारतमा रहेका एक अर्ब ३८ करोड जनसंख्याको शून्य दशमलव २५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाइदा लिनसक्ने अध्यक्ष मल्लको भनाइ छ । मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आर्कषित गर्नसके धरै फाइदा लिन सकिने उनले बताए ।
राजदूत शर्मासँग अध्यक्ष मल्लले निर्यात सहजीकरण गरिदिन पनि आग्रह गरे । उच्चस्तरीय क्वारेन्टिन ल्याब भन्सारमा नहुँदा भारतबाट आयता निर्यात हुने वस्तुहरूको गुणस्तर मापन हुन नसकेको भन्दै उनले राजदूत शर्माको ध्यानाकर्षण समेत गराए । चेम्बरका पदाधिकारीले विशाखापट्नम बन्दरगाह, उडिसाको धर्मा पोर्ट तथा गुजरातको मुन्द्रा पोर्डमा नेपाली व्यवसायीले अनावश्यक दुःख पाइरहेको गुनासो गरेका थिए । नेपाली सामान बोकेका कन्टेनरहरू लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजीकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरेका थिए । जवाफमा राजदूत शर्माले व्यापारघाटा न्यूनीकरण र निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टिन ल्याब स्थापनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । नेपाल–भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफूले पहल गर्ने राजदूत शर्माको भनाइ छ ।