काठमाडौं । प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’ चितवनमा हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा यही बिहीबारदेखि आइतबारसम्म चितवन एक्स्पो सेन्टर, दूरसञ्चार रोड, भरतपुर, चितवनमा प्रदर्शनी हुन लागेको हो ।
उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय २० बढी कम्पनीहरुको स्टल रहनेछन् । ‘नेपाल फाइभ पी’ पाँच विधाका सम्पूर्ण व्यापारी, व्यवसायीलाई एकै ठाउँमा एकीकृत गरी व्यावसायिक साझेदारी, नवीनतम प्रविधि प्रदर्शन तथा संवाद गर्न उक्त प्रदर्शनी एउटा साझा मञ्च हुने आयोजकले विश्वास गरेका छन् । यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ्ग मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्ग, कन्टेनर, बिब कक, इन्डक्सन मोल्डिङ्ग मेसिन, प्रिन्टिङ्ग मेसिन, टेप, प्लाष्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्ट्स, सिलाइ मेसिनरी उत्पादकहरु, प्याकेजिङ मेसिनरी, -याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता हुनेछ । प्लास्टिक, पेपर, प्रिन्टिङ्ग, प्याकेजिङ्ग र प्रोसेसिङ्गसँग सम्बन्धित ख्यातिप्राप्त ब्राण्डका मेसिनहरुद्वारा प्रत्यक्ष प्रदर्शनी समेत रहने आयोजकले जानकारी दिएको छ ।
नेपाल सार्क क्षेत्रमा द्रुत गतिमा बढिरहेको बजार हो । यस प्रदर्शनीले हजारौँको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाँउमा उभ्याउँदै वितरक र खरिदकर्ताबीचको सिधा सम्पर्क प्रवर्द्धन गर्ने आयोजकको विश्वास छ ।
सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाइभ पीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पु-याउन संसारभरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्र्याउने आयोजक संस्थाको दाबी छ । यो प्रदर्शनीलाई सफल पार्नका लागि मुख्य सहयोगी संस्थाहरुमा नेपाल मुद्रण उद्योग महासंघ, कोरोगेटेड बक्स म्यानुफ्याक्चर्स, चितवन उद्योग संघ र नेपाल उधोग परिसंघलगायत संघ/संस्थाहरुको पनि महत्वपूर्ण भूमिका रहेको आयोजकको भनाइ छ ।