काठमाडौं । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्ष समेत स्थापना गरिनेछ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ । समझदारीअनुसार महासंघले राष्ट्रको आवश्यकताअनुसारका लगानी परियोजनाको पहिचान, अन्तर्राष्ट्रियरुपमा आफ्नो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्नेछ । त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी रोड शोका अतिरिक्त महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्नेछ । त्यसैगरी लगानी प्रवर्द्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानीसम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्नेछन् भने एफडीआई तथा लगानी प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रदर्शनी, गोष्ठी, कार्यशाला, तालिम र यस्तै प्रकारका अन्य गतिविधिहरुको आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग पु-याउनेछ । महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिले लगानी प्रवर्द्धनका लागि तयार गर्ने सबै दस्तावेजहरुमा बोर्डले पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले लगानीसम्बन्धी तथ्यांक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, बाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानीसम्बन्धी नीति पैरवीलगायतमा सहयोग, सहकार्य, आदानप्रदान गर्नेछन् । महासंघले लगानीका अवसरसम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सबै प्रकारका लगानी, परियोजना विकासलगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष जनार्दन शर्माले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवर्द्धनका लागि बोर्ड र महासंघबीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतिका दफाहरुलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए । यो सहमतिबाट सिंगो राष्ट्र नै लाभान्वित हुने उनको भनाइ थियो । सरकारले आन्तरिक एवं बाह्य सबै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको बताउँदै उनले लगानी गर्न आउनेलाई प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नुपर्ने सुझाव दिए । लगानीका लागि गरिएको प्रतिबद्धताअनुरुप लगानी आउन नसक्नुका पछाडि मिहिन ढंगले अध्ययन गरी प्रतिबद्धताअनुरुपको अधिकतम लगानी भित्र्याउन सरकार लागिरहेको पनि उनले बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासंघबीचको समझदारी ऐतिहासिक भएको उल्लेख गरे । लामो गृहकार्यपश्चात् भएको सहमतिलाई सफल पार्न बोर्डले कुनै कसर बाँकी नराख्ने भन्दै उनले महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास व्यक्त गरे । दुवै संस्थाको एउटै उद्देश्य मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवर्द्धनका माध्यमबाट आम नेपालीहरुको मुहार खुसी बनाउनु नै रहेकाले यसलाई अधिकतम रुपमा सफल पार्नेमा विश्वास समेत दिलाए । महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवर्द्धनमा समझदारी कोशेढुंगा हुने बताए । अध्यक्ष गोल्छाले समझदारीले लगानी बोर्डसँग लगानी प्रवर्द्धनमा सहकार्य गर्ने ढोका खुलेको समेत उल्लेख गरे । महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायता कक्षले ठोस परिणाम दिने र महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्रलाई सफल पार्न पनि यो प्रतिबद्धताले सहयोग पु-याउने उनको भनाइ छ । कार्यक्रममा लगानी बोर्डका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष भवानी राणा र बोर्डका सहसचिव भगवान अर्यालले बोर्ड र महासंघबीचको समझदारीबाट मुलुकभित्र लगानी प्रवर्द्धनका लागि एउटा नयाँ अध्यायको सुरु भएको उल्लेख गरे । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति आनन्द बगाडिया, कार्यकारिणी समितिका सदस्यहरु, महासंघ र लगानी बोर्डका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।