काठमाडौं । नगर विकास कोषले झापाको दमक नगरपालिकामा ‘दमक सपिङ कम्प्लेक्स’ निर्माणका लागि ४२ करोड रुपैयाँ ऋण प्रवाह गर्ने भएको छ । कोषको सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत हालसम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अनुमानित लागतको उक्त कम्प्लेक्स निर्माणका लागि ऋण प्रवाह गर्नेगरी कोषले सम्झौता गरेको छ ।
कम्प्लेक्स आयोजना निर्माणका नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीबीच ४२ करोड ८० लाख रुपैयाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर भएको हो । कम्प्लेक्स आयोजना निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाख रूपैयाँ अर्थात् ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ । सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।
दमक नगरपालिकाको करिब आठ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रूपमा लिइएको छ । यो आयोजना प्राविधिक दृष्टिकोणबाट बृहत् अध्ययनपश्चात् निर्माण हुन गइरहेकोले आयोजना गुणस्तरीयरूपमा आधुनिक प्रविधियुक्त आयोजनाको रूपमा सम्पन्न हुने नगरप्रमुख ओलीले बताए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले आधुनिक सेवा सुविधा, सुरक्षा तथा प्रविधिको हरेक पक्षलाई समेटर तयार भएको यो आयोजना नगरपालिकाको आइकनिक आयोजनाको रूपमा स्थापित हुने उल्लेख गरे । कार्यकारी निर्देशक सापकोटाले आधुनिक सहरी सेवा सुविधा विस्तारका लागि आयोजनालाई अगाडि बढाउन नगरपालिकाको वर्तमान नेतृत्वको महत्वपूर्ण भूमिका रहेको बताए ।
कोषको नगरपालिकाहरूमा सहरी पूर्वाधारका आयोजनामा बढीभन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधासम्पन्न सहरको निर्माण तथा विकासमा योगदान गर्ने उद्देश्यअनुरूप दमकको नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधियुक्त सेवा सुविधा उपलब्ध गराउन नगरपालिकाले कम्प्लेक्स निर्माण गर्न लागेको हो ।