कोलम्बो । श्रीलंकामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा ऊर्जा संकट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।
एएफपीका अनुसार दुई करोड २० लाख जनसंख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ । श्रीलंकामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत बिजुली जलविद्युत् परियोजनामार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले संकटमा रहेका छन् ।
पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाई छ । बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नुपर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ ।