काठमाडौं । नेपाल र भारतले ऊर्जा क्षेत्रमा सहकार्य गर्न संयुक्त भिजन सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणका क्रममा दुई देशले ऊर्जा क्षेत्रमा संयुक्त भिजन बनाएर सहकार्य गर्ने सहमति गरेका हुन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा गत शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । सोही क्रममा शनिबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीले औपचारिक भेटवार्ता र छलफल गर्दै संयुक्त वक्तव्य जारी गरेका थिए । सो क्रममा दुवै प्रधानमन्त्रीले एक–अर्का देशको ऊर्जा क्षेत्रको सकारात्मक विकासलाई जोड दिएका थिए । नेपाल ऊर्जामा बचततर्फ अघि बढेकोमा भारतले यस क्षेत्रमा नेपालले गरेको महत्वपूर्ण प्रगतिका लागि बधाई दिएको थियो ।
प्रधानमन्त्री देउवाले नेपालजस्ता देशलाई भारतीय बजारमा ऊर्जाको पहुँच पु-याउने गरी भारतको भर्खरै भएको अन्तर्सीमा विद्युत् व्यापार निर्देशिकाको प्रशंसा गरे । साथै प्रधानमन्त्री देउवाले नेपालको ऊर्जा क्षेत्रको विकास, क्षमतावृद्धि र विद्युत् उत्पादन र प्रसारणलाइनजस्ता पूर्वाधार परियोजनामा भइरहेको प्रत्यक्ष भारतीय योगदानको सह्राहना गरे ।
ऊर्जामा सहकार्यबारे संयुक्त भिजनअनुसार नेपालको ऊर्जा उत्पादनको संयुक्त विकास गर्न, अन्तर्सीमा प्रसारणलाइन पूर्वाधारको विकास गर्न, दुईपक्षीय फाइदा, बजार माग र दुवै देशको आन्तरिक नियमनलाई सहज बनाएर दुवै देशका ऊर्जा बजारमा उचित पहुँचसँगै द्वि–दिशात्मक ऊर्जा व्यापार गर्न, राष्ट्रिय ग्रिडको सञ्चालनमा सहकार्य गर्न र पछिल्लो सूचना, प्रविधि र ज्ञान बाँड्न संस्थागत सहकार्य गर्नेबारे दुवै देशका प्रधानमन्त्री सहमत भएका छन् ।
त्यसैगरी, सबै संलग्न पक्षबीच पारस्परिक रुपमा सहमति भएका शर्त र यसको अधीनमा बीबीआईएन फ्रेमवर्कअन्तर्गत आफ्ना साझेदार देशलाई समावेश गर्न यस्तो सहयोग विस्तार गर्न, आफ्ना राष्ट्रिय नीिित र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताको आधारमा नवीकरणीय ऊर्जा उत्पादन (विशेष गरी जलविद्युत्) र ऊर्जा साझेदारीको आधारशिला निर्माण गर्न, नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा भारतीय लगानी विशेषगरी जलविद्युत्मा हुँदा यसले दुवै देशलाई फाइदा गर्ने भएकाले यसले दुवै देशको अर्थतन्त्रलाई मजबुत बनाउँदै रोजगारी सिर्जना, निर्यात वृद्धि, आम्दानी वृद्धि र औद्योगिक तथा वित्तीय क्षमताको थप विकासमा योगदान गर्छ र अन्य पारस्परिक सहमतिका लाभ बढाउने दुई देशको निष्कर्ष छ ।
त्यस्तै, नेपालले भारतीय कम्पनीहरुलाई विविध नवीकरणीय ऊर्जा परियोजनाको विकास, निर्माण र सञ्चालनमा लगानी गर्न आमन्त्रित गरेको छ । पारस्परिक फाइदाजनक साझेदारीद्वारा खासगरी जलाशयमा आधारित परियोजनालगायत जलविद्युत्मा यस्तो आग्रह गरेको छ । त्यसैगरी पञ्चेश्वर परियोजनाबारे यसअघिका उच्चस्तरीय भेटवार्तामा भएका छलफलबारे कुरा गर्दै यसले दुवै देशका जनतालाई फाइदा पुग्ने भएकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रुप दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ ।
यस्तै, संयुक्त मार्गदर्शनमा आधारित रहेर परियोजना कार्यान्वयनको गतिलाई प्राथमिकताका साथ तीव्रता दिन दुवै प्रधानमन्त्री सहमत भएका छन् । उनीहरु एक अर्काको राष्ट्रिय समृद्धिलाई पारस्परिक सम्मान र समान हिसाबले समर्थन गर्न सहमत भएका छन् । ऊर्जाबाहेक भारतसँग अन्य धेरै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तीन दिने भ्रमणसँगै उनी आइतबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनााएको छ । यो प्रधानमन्त्री देउवाको पाँचौ भारत भ्रमण हो । उनीसँगै श्रीमती आरजु राणा, परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, कृषिमन्त्री महिन्द्र राय यादव, मुख्यसचिव, सचिवहरुलगायत भ्रमणदलमा सहभागी छन् ।
यस्ता छन् नेपाल–भारत ऊर्जा सहकार्यका ६ बुँदा
१. अप्रिल २, २०२२ मा नेपाल र भारतका प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा सौहार्दपूर्ण भेटवार्ता भयो । सो क्रममाा दुईदेशीय सहकार्यबारे कुराकानी भयो । दुवै नेताहरुले अनन्त सम्बन्धलाई थप गहिरो बनाउने र दुई देशलाई भूगोल, इतिहास, संस्कृति, वाणिज्य र जनस्तरको सम्बन्धले बाँधेको हुँदा यसप्रति प्रतिबद्ध रहने बताए ।
२. यस्तो परिस्थितिमा दुवै प्रधानमन्त्रीले एक–अर्का देशको ऊर्जा क्षेत्रको सकारात्मक विकासलाई जोड दिए । नेपाल ऊर्जामा बचततर्फ अघि बढेकोमा भारतले यस क्षेत्रमा नेपालले गरेको महत्वपूर्ण प्रगतिका लागि बधाई दियो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालजस्ता देशलाई भारतीय बजारमा ऊर्जाको पहुँच पु-याउने गरी भारतको भर्खरै भएको अन्तर्सीमा विद्युत् व्यापार नियमनको प्रशंसा गरे । साथै प्रधानमन्त्री देउवाले नेपालको ऊर्जा क्षेत्रको विकास, क्षमतावृद्धि र विद्युत् उत्पादन र प्रसारणलाइनजस्ता पूर्वाधार परियोजनामा सिधै भारतीय योगदानको सह्राहना गरे ।
३. दुवै प्रधानमन्त्रीले सहमत भए :
३.१ ऊर्जा क्षेत्रमा दुवै देशलाई फाइदा हुने गरी अथाह अवसरको सिर्जना गर्न सकिन्छ :
(क) नेपालको ऊर्जा उत्पादनको संयुक्त विकास
(ख) अन्तर्सीमा प्रसारणलाइन पूर्वाधारको विकास
(ग) दुईपक्षीय फाइदा, बजार माग र दुवै देशको आन्तरिक नियमनलाई सहज बनाएर दुवै देशका ऊर्जा बजारमा उचित पहुँचसँगै द्वि–दिशात्मक ऊर्जा व्यापार
(घ) राष्ट्रिय ग्रिडको सञ्चालनमा सहकार्य र
(ङ) पछिल्लो सूचना, प्रविधि र ज्ञान बाँड्न संस्थागत सहकार्य
३.२ सबै संलग्न पक्षबीच पारस्परिक रुपमा सहमति भएका शर्त र यसको अधीनमा बीबीआईएन फ्रेमवर्कअन्तर्गत आफ्ना साझेदार देशलाई समावेश गर्न यस्तो सहयोग विस्तार गर्न
३.३ आफ्ना राष्ट्रिय नीिित र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताको आधारमा नवीकरणीय ऊर्जा उत्पादन (विशेष गरी जलविद्युत्) र ऊर्जा साझेदारीको आधारशिला निर्माण गर्न
३.४ नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा भारतीय लगानी विशेषगरी जलविद्युत्मा हुँदा यसले दुवै देशलाई फाइदा गर्छ । यसले दुवै देशको अर्थतन्त्रलाई मजबुत बनाउँदै रोजगारी सिर्जना, निर्यात वृद्धि, आम्दानी वृद्धि र औद्योगिक तथा वित्तीय क्षमताको थप विकासमा योगदान गर्छ र अन्य पारस्परिक सहमतिका लाभ बढाउँछ ।
४. नेपालले भारतीय कम्पनीहरुलाई विविध नवीकरणीय ऊर्जा परियोजनाको विकास, निर्माण र सञ्चालनमा लगानी गर्न आमन्त्रित गरेको छ । पारस्परिक फाइदाजनक साझेदारीद्वारा खासगरी जलाशयमा आधारित परियोजनालगायत जलविद्युत्मा यस्तो आग्रह गरेको छ ।
५. पञ्चेश्वर परियोजनाबारे यसअघिका उच्चस्तरीय भेटवार्तामा भएका छलफलबारे कुरा गर्दै यसले दुवै देशका जनतालाई फाइदा पुग्ने भएकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रुप दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ ।
६. संयुक्त मार्गदर्शनमा आधारित रहेर परियोजना कार्यान्वयनको गतिलाई प्राथमिकताका साथ तीव्रता दिन दुवै प्रधानमन्त्री सहमत भएका छन् । उनीहरु एक अर्काको राष्ट्रिय समृद्धिलाई पारस्परिक सम्मान र समान हिसाबले समर्थन गर्न सहमत भएका छन् ।
देउवा भारतको पुरानो मित्र : मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी शेरबहादुर देउवालाई भारतको पुरानो मित्र रहेको बताएका छन् । भारत भ्रमणमा आएका देउवासँगको कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो धारणा राख्ने क्रममा उनलाई भारतको पुरानो मित्र भनेका हुन् । मोदीले भने, ‘यो उहाँको प्रधानमन्त्रीका रुपमा पाँचौाँ भारत भ्रमण हो । उहाँले नेपाल भारत सम्बन्ध विकासमा धेरै महत्वपूर्ण योगदान पु-याउनुभएको छ ।’
देउवालाई भारतको पुरानो मित्र भन्दै मोदीले नवरात्रि र नयाँ वर्षको अवसरमा स्वागत गर्न पाएको बताए । उनले नेपाली समकक्षीसँग निकै फलदायी वार्ता भएको बताए । उनले भने, ‘हामीले हाम्रो सहकार्य, धेरै परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रोडम्यापबारे छलफल ग-यौँ ।’
त्यस्तै दुई प्रधानमन्त्रीबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि अवसर सिर्जना गरी पूर्ण लाभ उठाउनुपर्ने कुराकानी भएको मोदीको भनाइ थियो । पञ्चेश्वर परियोजनालाई तीव्र रुपमा अगाडि बढाउन खाँचो रहेको मोदीले बताए । यो परियोजना यस क्षेत्रकै गेमचेन्जर साबित हुने उनको भनाइ थियो ।
उनले नेपालको ऊर्जा क्षेत्रमा खासगरी जलविद्युत् विकासमा भारतीय निजी कम्पनीको सहभागिताका लागि सहमत भएको बताए । नेपालले बचेको बिजुली भारत निर्यात गरिरहेको भन्दै मोदीले खुसी व्यक्त गरे । यसले नेपालको आर्थिक प्रगति हुने उनको भनाइ थियो । त्यस्तै नेपाल इन्टरनेशनल सोलार एलायन्सको सदस्य बनेको भन्दै खुसी व्यक्त गरे ।
सीमा विवादबारे के भयो ? प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमा विवादबारे भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार देउवाले मोदीलाई कार्यसंयन्त्र बनाएर सीमा विवाद हल गर्न आग्रह गरेका थिए । तर देउवाको उक्त प्रस्तावबारे मोदीले के भने भन्नेचाहिँ मन्त्रालयले पनि खुलाएको छैन ।
नेपालले भारतसँग माग्यो थप ३ हवाइ रुट
नेपालले भारत सरकारसँग थप हवाइ रुट उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने औपचारिक भारत भ्रमणका क्रममा नेपालले महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट हवाइ प्रवेश रुट दिन माग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त माग गरेका हुन् । देउवाको उक्त प्रस्तावमा भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक रहेको जवाफ दिएका थिए ।
दुई समझदारी : नेपाल र भारतबीच दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र नरेन्द्र मोदीको उपस्थितिमा रेलवे क्षेत्रमा प्राविधिक सहकार्य बढाउने समझदारी भएको हो । त्यस्तै इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थको आपूर्तिका लागि सम्झौता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यी दुई सरकारी निकायबीच प्राविधिक विज्ञता आदानप्रदान गर्ने सम्झौताा भएको हो । यसबाहेक इन्टरनेशनल सोलार एलायन्स (आईएसए)को फ्रेमवर्क सम्झौता भएको छ ।