काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०७८’ का टोली संयोजकलाई नेपालको झण्डासहितको ब्यानर हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित एक कार्यक्रमका बीच उनले सगरमाथा, कञ्चनजंघा, मनास्लु र ल्होत्से हिमाल सफाइ अभियानका टोली संयोजकलाई ब्यानर हस्तान्तरण गरेका हुन् ।
नेपालका प्रसिद्ध हिमाल आरोहण गर्ने क्रममा छोडिएको फोहर सङ्कलन गरी हिमालको सुन्दरतालाई जीवन्त दिने उद्देश्यले नेपाली सेनाले सन् २०१९ देखि हिमाल सफाइ अभियान सञ्चालन गर्दै आएको छ । यस वर्षको हिमाल सफाइ अभियान मुख्यरूपमा ५५ दिन चल्ने सेनाले जनाएको छ । बुधबारदेखि सुरु भएको यस अभियान जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । त्यसका लागि सेनाका ३० जनशक्तिसहित ९२ जना परिचालित हुनेछन् । अभियानबाट ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य लिइएको सेनाले जनाएको छ ।
यस वर्ष सफा हिमाल अभियानको दौरान नेपाली सेनाका चार डाक्टर अधिकृतहरू खट्टिएर हाइ अल्टिच्युडले स्वास्थ्यमा पार्ने प्रभाव अध्ययन गर्नुका साथै जोखिम न्यूनीकरणका लागि माउन्टेन मेडिसिन रिसर्च समेत गर्नेछन् । हिमाल सफाइ अभियानलाई जटिल, चुनौतीपूर्ण र सहासिक कार्यका रूपमा लिने गरिएको छ । कार्यक्रममा प्रधानसेनापति शर्माले सेनाले ४० वर्षदेखि प्रकृति संरक्षण र पर्यावरण जोगाउने काममा निरन्तर काम गरिरहेको बताए । नेपाली सेनाका नौ हजारभन्दा बढी जनशक्ति प्राकृतिक संरक्षणका लागि मुलुकका विभिन्न क्षेत्रमा तैनाथ छन् ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारा लुइँटेललगायतले नेपालको जैविविविधताको संरक्षण र संवर्द्धनमा सेनाबाट हुँदै आएको योगदान महत्वपूर्ण रहेको बताए । नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी हिमांशु खड्काले प्रचुर मात्रामा रहेका अमूल्य स्रोत साधन, जैविक विविधतालगायत हिमाल संरक्षणमा सेनाले पु-याउँदै आएको कार्य तथा सफाइ अभियानको उद्देश्य, चुनौती र तयारीका विविध पक्षबारे जानकारी दिए ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुन लागेको उक्त अभियानमा सरकार सम्बद्ध निकायहरूलगायत नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, व्यापारिक संघसंस्थाहरू कोकाकोला कम्पनी, युनिलिभर नेपाललगायतको आर्थिक एवं प्राविधिक सहयोग समेत रहेको छ ।