काठमाडौं । विदेशी मुद्राको सञ्चिति बढाउन नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको नियमित कोटामा कटौती गरेको लामो समय भएको छैन । आयात र निर्यातबीचको असन्तुलन उच्च हुँदा व्यापारघाटा बढेसँगै नेपाल राष्ट्र बैंकले भुक्तानी सन्तुलनलाई सुविधाजनक अवस्थामा कायम राख्न दैनिक सुन आयातमा कटौती गर्दै आएको छ ।
केही महिना अघिसम्म दैनिक २० किलोको दरमा सुनको नियमित आयात कोटा तोकेको राष्ट्र बैंकले पछिल्लो समय यसलाई कटौती गर्दे दैनिक आयात कोटालाई १० किलोमा सीमित गरेको छ । यसो गर्नुको प्रमुख कारण नै घट्दै गएको विदेशी मुद्राको सञ्चिति हो । राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको छ । सो अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव दुई प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब दुई करोड रुपैयाँमा झरिसकेको छ ।
आगामी समय यस्तो सञ्चिति अझै घट्दै जाने देखिएको छ । अमेरिकी डलरमा पनि यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७ प्रतिशतले कमी आई नौ अर्ब ७५ करोडमा झरेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७ दशमलव सात प्रतिशतले घटेर १० खर्ब २४ अर्ब ६० करोड झरेको छ । राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्राको सञ्चिति पनि २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ माघ मसान्तमा तीन दशमलव नौ प्रतिशतले घटेर एक खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको छ ।
राष्ट्र बैंकको उक्त तथ्यांकअनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राको सञ्चितिले सात महिना चार दिनको वस्तु आयात र छ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न मात्र पुग्ने देखिएको छ ।
यसरी निरन्तररुपमा विदेशी मुद्राको सञ्चिति घटेपछि सञ्चिति बढाउन राष्ट्र बैंकले आवश्यक पर्ने सबै किसिमका वैकल्पिक विधिहरु अपनाइरहेको छ । आयातमा कडाइ, दैनिक सुन आयातको परिमाणमा कटौती यसका केही उदाहरणहरु हुन् । तर सुनको दैनिक आयातमा कटौती गरे पनि बैंक तथा फाइनान्स कम्पनीहरुले सुनधितोमा मात्र चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा ४६ अर्ब दुई करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो सात महिनाको अवधिमा सुनचाँदी धितोमा उक्त कर्जा प्रवाह गरेको राष्ट्र बैंकले भनेको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुले मात्र सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा रकम ४३ अर्ब २४ करोड ५० लाख रुपैयाँ रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो सात महिनाको अवधिमा सुनचाँँदी धितोमा क्रमशः तीन अर्ब ८४ करोड र ९३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।