काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना २०७८ चैत २८ देखि लागू हुने बैंकले जानकारी दिएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेकी छन् । नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रीम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रीम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि ग्राहकहरूले नेपाल बैंकको शाखाहरूमा सम्पर्क गर्नु पर्दछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन समेत आग्रह गरेको छ ।
नेपाल बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउन समर्पित छ । सम्झौता समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस्ता डिजिटल सेवाहरू बढाएर र नयाँ प्राविधिक आविष्कारहरूसँग अनुकूलन गरेर नेपालको सम्पूर्ण बैंकिङ उद्योगलाई नयाँ आकार दिन सकिने विचार व्यक्त गरे । दराजकी प्रबन्ध निर्देशक आँचल कुवँरले नेपालको पहिलो तथा सबल बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।