काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको दुई करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले चैत्र २५ गते अर्थात् शुक्रबारबाट हाल कायम रहेको जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँमध्येबाट ३६ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुई लाख ३६ हजार दुई सय ५० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्र्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको संस्थाको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही चैत्र २९ गते र ढिलोमा वैशाख नौ गते बन्द हुनेछ । बिक्री गरिने कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशतका दरले तीन हजार दुई सय ८१ कित्ता सेयर कर्मचारीहरूको लागि, पाँच प्रतिशका दरले ११ हजार आठ सय १३ कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको दुई लाख २१ हजार एक सय ५६ कित्ता सेयर सर्वसाधारण बिक्री हुनेछ ।
अधिकृत पुँजी आठ करोड एवं जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी हाल चार करोड २० लाख रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी छ करोड ५५ लाख २५ हजार रुपैयाँ पुग्ने छ । सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम एक सय कित्तासम्मको सेयर खरिद गर्नको लागि आवेदन दिन सक्नेछन् ।