इस्लामावाद । पाकिस्तानका एक सय ५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी – पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन् ।
नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् । जनताको भावनाविपरीत विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताएका हुन् ।
विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसदमा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनुपरेको उनको भनाइ छ । उनले अब जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गरेका छन् । आफूले विघटन गरेको संसद्लाई अदालतले ल्याइदिएपछि थप नैतिक संकटमा परेका नेता खानले विघटन गरेको संसद्मा फर्किनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताइएको छ ।
उनको पार्टीका सबै सांसदहरुले राजीनामा दिएपछि बहुमतका साथ विपक्षी दलका नेता शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनले नयाँ मन्त्रिमण्डल बनाएर सरकारलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पाकिस्तानको नयाँ सरकारलाई राजनीतिक संकटसँगै आर्थिक संकट पनि सामना गर्नुपर्ने अवस्था रहेको छ ।