काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको जानकारी दिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा उक्त संख्यामा मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यस्तै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसम्बन्धी काममा एकरूपता कायम गर्न ७७ वटै मुख्य निर्वाचन अधिकृत र छ सय ७६ वटै निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ । साथै स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको जानकारी दिएको छ ।
निर्वाचनलाई अपाङ्गमैत्री बनाउने र मतदानमा प्राथमिकता दिने विषयलाई आयोगले विशेष ध्यान पु-याउने बताउँदै प्रवक्ता पौडेलले निर्वाचन सामग्री व्यवस्थापनका कारण अब निर्वाचनमा बाधा नपुग्ने स्पष्ट पारे । सामान्य प्रशिक्षण कार्य खर्चबाहेक यस पटकको स्थानीय तह निर्वाचन आफ्नै आर्थिक स्रोतबाट सम्पन्न गर्न लागेको आयोगको भनाइ छ ।