काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको आरबीबीएल २०८९ ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बधमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार अंकित दरले कुल पाँच अर्ब रुपैयाँ (५० लाख कित्ता) मूल्यबराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ । आरबीबीएल ऋणपत्र २०८९ नामको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ । केयर रेटिङ नेपाल लिमिटेडले बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा रहेको संकेत गर्ने रेटिङ प्रदान गरेको छ । बैंकले हाल देशभर दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिएको छ ।