काठमाडौं । नेपालकै सबैभन्दा पुरानो वीर अस्पताल खरिद तथा ठेक्कामा पछिल्लो समय चरम अनियमितता हुने गरेको पाइएको छ । यसअघि अस्पतालको प्रमुख कार्यकारी अधिकारी नियुक्त डा. जागेश्वर गौतमले आफ्नै व्यावसायिक साझेदारलाई करोडौँको ठेक्का दिएको विषयमा विवाद भएपछि उनी हटाइए ।
हाल फेरि खरिद ठेक्कामा गौतमकै पालामा जस्तो सेटिङ हुने गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट हाल कोभिड १९ केन्द्रीय अस्पतालमा परिणत भएको वीर अस्पतालको क्याथ ल्याब खरिदमा मिलेमतो भएको पाइएको हो ।
करिब १० करोड मूल्यबराबरको क्याथ ल्याब खरिदको ठेक्कामा स्पेकिफिकेसन निर्माणमै मिलेमतो भएको आरोप छ । हस्पिटेक प्रालिका मालिक विशाल पण्डितको मिलेमतोमा ठेक्काको स्पेक बनाइएको आरोप छ ।
क्याथ ल्याबका लागि तयार पारिएको बिडिङ डकुमेन्टको स्पेक फिलिप्स हेल्थ केयरसँग मिल्ने गरी तयार पारिएको वीर अस्पताल स्रोतले आर्थिक दैनिकलाई बतायो । पण्डितले वीर अस्पतालमा आफूलाई अनुकूल हुने गरी कर्मचारी नै खडा गरेको आरोप अर्को पक्षको छ ।
वीरमा कार्यरत डा. समिर पौडेलले मेडिकल सामग्रीका ठूला माफिया विशाल पण्डितकै योजनामा स्पेक बनाएको ती कर्मचारीले नाम नबताउने शर्तमा बताए । उक्त स्पेक सीमित व्यापारीलाई पोस्नका लागि बनाइएको भन्दै शुक्रबार चलेको प्रि बिडिङ बैठकमा समेत लफडा भएको थियो । डा. पौडेलले सीमित व्यापारीलाई पोस्नका लागि कमिसनको खेल खेलेको आरोप लागेको थियो ।
उपकरण व्यापारबाटै अर्बौं कमाएका पण्डितको कम्पनी हस्पिटेकलाई ठेकका दिनकै लागि सेटिङमा स्पेक तयार पारिएको आरोप छ । स्पेक बनाउन एउटै मात्रै नभई सबैले टेण्डर फारम भर्न पाउने गरी निर्माण गर्न अस्पतालभित्रै दबाब छ ।
तर, डा. पौडेलले अस्पताल कर्मचारीको सुझावविपरीत कमिसनको प्रलोभनमा पण्डितको स्वामित्व हस्पिटेक नामक कम्पनीलाई नै हुने गरी स्पेक बनाएको आरोप छ । अस्पताल स्रोतका अनुसार स्पेक बनाउँदा भएको मिलेमतोको बुँदासहित अख्तियार, सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि विभिन्न निकायमा उजुरी परेको छ ।
पण्डितले यसअघि समेत वीर अस्पतालमा गुणस्तरहीन सामग्री खरिद गरेको र आगामी दिनमा समेत मुटु रोगजस्तो गम्भीर रोगको उपचारमा प्रयोग हुने मेडिकल सामग्री गुणस्तरहीन हुने कर्मचारीको चिन्ता छ ।