काठमाडौं । निर्माण व्यवसायीले निर्माण क्षेत्रका सम्पूर्ण काम बन्द गर्ने भएका छन् । निर्माण सामग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धिका कारण काम गर्न नसकिने भन्दै व्यवसायीहरूले आइतबारदेखि अनिश्चितकालका लागि निर्माणका काम बन्द गर्न लागेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माणकार्य अघि बढाउन नसकिने भएकाले बाध्य भएर ‘निर्माण होलिडे’ आह्वान गरिएको बताए । महासंघको सचिवालय अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी अध्यक्ष रवि सिंहले महासंघले निर्माण सामग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई आइतबारदेखि लागू हुनेगरी कन्स्ट्रक्सन होलिडे मानिने जानकारी दिए । ‘कन्स्ट्रक्सन होलिडे’को अवधिमा पनि अत्यावश्यक निर्माणकार्यलाई भने नरोकिने उनको भनाइ छ ।
महासंघले आफ्नो माग पूरा गर्न दबाबस्वरूप ७७ जिल्ला संघहरूले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरूले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा वैशाख १३ गतेदेखि प्रत्येक दिन एक घण्टा धर्ना दिने समेत उनले जानकारी दिए । पछिल्लो समयमा निर्माण सामग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका केही त्रुटिपूर्ण बुँदालगायतका कारणले निर्माण उद्योग धराशायी भएको अध्यक्ष सिंहको दाबी छ ।
निर्माण उद्योगमा आबद्ध १७ हजारभन्दा बढी व्यवसायीहरू पेसाबाटै पलायन हुने स्थिति देखा परिसकेको र उनीहरूमा आश्रित लाखौँ परिवारको भविष्य अन्यौलमा परेको पनि अध्यक्ष सिंहले बताए । निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा अत्यन्त नकारात्मक असर परेकोबारे प्रधानमन्त्री, मन्त्रीहरू, मुख्य सचिव, सचिवहरूलगायत सरोकारवाला सबैको समयमै ध्यानाकर्षण गराई माग पूरा गर्ने समयसीमा दिँदा समेत कुनै सुनुवाइ नभएको उनको आरोप छ ।