विराटनगर । सरकारले विदेशी मुद्रा सञ्चतिका नाममा कपडा आयातको लागि एलसी समेत खोल्न नदिएको निहुँ बनाएर विराटनगरलगायत पूर्वी बजारका कपडा व्यापारीले अनधिकृतरूपमा कपडा आयात गरी कपडाको स्टोर गर्दै आएको पाइएको छ ।
स्रोतका अनुसार विराटनगरका कपडा व्यवसायी सन्जित भगत र विभिन्न ब्राण्डका कपडाको अवैधरूपमा कारोबार गर्दै आएका अमर जलान उर्फ बब्लु अग्रवालले प्रहरीकै सेटिङमा अवैध बाटो हुँदै कपडा आयातको कारोबारलाई तीव्रता दिएका हुन् । सरकारले कपडा आयातका लागि एलसी खोल्न कडाइ गर्नासाथ अहिले कपडा व्यापारी भगत र जलानको कारोबारले तीव्रता लिएको छ ।
कपडा व्यापारी भगत भन्सार सेटिङदेखि पूर्वी बजारमा कपडाको कारोबारीमा चर्चित छन् । त्यसैगरी अमर चर्चित कपडा व्यवसायी शारदा प्रसाद अग्रवालका छोरा हुन् । यो समूहले बजारको आवश्यकताअनुसार सिजनमा आवश्यक पर्ने कपडाको व्यापारदेखि देशभरि नै कपडाको ढुवानी समेतको जिम्मेवारी लिएर अवैध बाटो हुँदै कपडा व्यावसायिक प्रतिष्ठानमा पु-याउने गरेको छ । यी कपडाका कारोबारहरूसँग प्रहरी प्रशासनदेखि राजस्व नियन्त्रण तथा चोरी निकासीको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको माथिल्लो तहसम्म समेत राम्रो सेटिङ रहेकोे स्रोतको दाबी छ । व्यापारी भगत बेला–बेला राजस्व अनुसन्धानको दायरा परे पनि व्यवसायी अग्रवाल भने अहिलेसम्म कुनै निकायको नियन्त्रणमा नपरेको व्यवसायीहरू बताउँछन् ।
अहिले विराटनगरलगायत झापा, इटहरीदेखि धरानसम्मका व्यापारीको कपडाको व्यवस्थापन भगत र अग्रवालले नै गर्नेगरेका छन् । उनीहरूले विराटनगरका सबैजसो व्यापारीको कपडा ठेक्कामा लिएर लाइन मिलाएर ल्याइदिने गरेको स्रोतको दाबी छ । दैनिकरूपमा यो समूहले करोडौँ मूल्यबराबरको कपडा प्रहरी र प्रशासनसँगको सेटिङमा नेपाल ल्याउँदा समेत जिम्मेवार निकाय भने मौन रहेको छ ।