काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको उल्लेख गरेका छन् । नेपालको वैदेशिक व्यापारमा बढ्दै गइ रहेको व्यापारघाटालाई न्यून गर्न विकास साझेदार संस्थाहरुले ऊर्जा, पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
आईएमएफका एसिया प्यासिफिक विभागका प्रमुख रवर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डल र चेम्बर अफ कमर्सका पदाधिकारीहरुबीच मंगलबार भएको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष मल्लले कृषिलाई प्राथमिकता दिन फूड बैंकको व्यवस्था हुनुपर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लागि एकल अंकको ब्याजदर हुनुपर्नेमा जोड दिए । साथसाथै साना तथा मझौला उद्यमहरुलाइ आईएमएफजस्ता संस्थाहरुबाट सहयोग प्रदान हुनुपर्ने उनले बताए । आईएमएफका मिसन चिफ रवर्ट ग्रेगोरीले नेपालमा छ महिनाको लागि विदेशी मुद्राको भण्डार रहेकोले सन्तोषप्रद रहेको बताए । साथै उनले कोभीड प्रकोपपश्चात्को नेपालको समग्र आर्थिक परिस्थिति तथा युक्रेनको विद्यमान परिस्थितिले व्यावसायिक क्षेत्रमा सृजना भएका विविध चुनौतीहरुबारे जिज्ञासा राखेका थिए ।