काठमाडौं । कुनै समय नेपाल विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङको बदमासीबारे समाचार लेख्दा पत्रकारमाथि उनका समर्थकले आइलाग्ने मात्र होइन लोडसेडिङको मतियार भनेर झूटो आरोप लगाएर उसलाई बदनाम गर्ने प्रयास गर्दथे ।
कुलमान पनि आफूले पकेटबाट फुत्त निकालेर बिजुली दिएको जसरी प्रचार गराएर रमाउँथे । उनले आफूले प्राधिकरणको सिस्टमलाई सुधार गरेर लोडसेडिङ्ग हटाएको भन्थे । आखिर त्यो सत्य थिएन । सत्य थियो, भारतबाट बिजुली खरिद गरेर ल्याएर नेपालमा दिएर लोडसेसिडङ्ग हटाएको । तर, त्यो मान्न उनका अनुयायीहरु तयार थिएनन् । उनले लोडसेडिङ्ग हटाउनेबारे जुन झूटको सहारा लिए त्यो झूटलाई उनले केही निश्चित सञ्चारमाध्यमबाट राम्रैसँग प्रचार गराए । त्यो झूट प्रचार गराएर उनले सबैबाट सम्मान लिए । त्यो झूटको प्रचारलाई उनले लगानी नै गरेर सामाजिक सञ्जालबाट अझ धेरै प्रचार गराए ।
वास्तवमा कुलमानको कारण नभई भारतबाट महंगोमा बिजुली खरिद गरेर ल्याएर लोडसेडिङ हटाएको थाहा पाउनेले पनि थाहा नपाएको जस्तो गरे । किनकि तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका एमडी घिसिङको झूटको बारेमा सत्य बोल्दा लोडसेडिङको मतियार बनेर सामाजिक बहिष्करणमा परिने डर थियो । त्यही भएर धेरैले कुलमानले गर्दा नै लोडसेडिङ हटेको भनेर स्वीकार गरेर बसेका थिए । तर, अर्थ मन्त्रालयले भने भारतलाई बिजुली खरिद गरेबापतको रकम प्राधिकरणको नाममा निकासा गरेर पठाइरहेको हुन्थ्यो । प्राधिकरणले कमाएर भारतबाट बिजुली खरिद गरिएको थिएन जनताले तिरेको करको रकम महंगोमा बिजुली खरिद गर्न प्रयोग भइरहेको थियो ।
अरुले दिएभन्दा बढी पैसा दिएर उनले भारतबाट बिजुली खरिद गरेर नेपालमा लोडसेडिङ हटाएका थिए । भारतबाट बिजुली खरिद गरेर ल्याउँदा उनले राष्ट्रको ढुकुटीबाट विदेशी मुद्रा बाहिर मात्र पठाएनन् राष्ट्रलाई ठूलो घाटा नै पारे । किनकि उनले झण्डै प्रतियुनिट ३८ रुपैयाँमा खरिद गरेर चार रुपैयाँमा मात्र नेपालमा बिजुली बिक्री गरेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममै बताएका थिए । ओली प्रधानमन्त्री भएकै बेलामा पनि राज्य कोषबाट त्यसरी भारतमा बिजुलीको पैसा पठाउने गरिएको थियो । तर, बाहिर भने कुलमानले लोडसेडिङ हटाएको भनेर झूट प्रचार गरिन्थ्यो ।
महंगोमा खरिद गरेर सस्तोमा बिक्री गर्दा मासिक करोडौँ विदेशी मुद्रा बाहिर पठाउन घिसिङले निरन्तर सहयोग गरिरहे । तर, स्वदेशमा विद्युत्का ठूला परियोजना सुरु गर्न उनले सहयोग नै गरेनन् । अहिले जति आयोजनाले बिजुली उत्पादन सुरु गरेका छन् र गर्दै छन् ती सबै कुलमान एमडी हुनुभन्दा अगाडि सुरु भएका आयोजना हुन् । उनले स्वदेशमा बिजुली उत्पादन बढाउन पहल नै गरेनन् । किनकि बिजुली उत्पादन बढाउनभन्दा भारतबाट खरिद गरेर ल्याउँदा कमिसन बढी पाइन्छ । कमिसन उठाएर राजनीतिक पार्टी र व्यक्ति पाल्नुपर्ने उनको बाध्यता छ । त्यही कारण कुलमानले विद्युत् उत्पादनभन्दा खरिदमा जोड दिए विगत चार/पाँच वर्षमा ।
कुलमानले भनेजसरी सिस्टममा सुधार र वर्षौँदेखि काम हुन नसकेका आयोजनालाई काम गर्ने अवस्थामा पु-याएको भए अहिले लोडसेडिङको मार उद्योगले भोग्नुपर्ने अवस्था आउने थिएन र लोडसेडिङ्गको त्रास सर्वसाधारणले भोग्नुपर्ने थिएन । केही दिनअगाडि उद्योगहरुमा बिजुली काटिँदा उद्योगीले गरेको विरोधलाई उनले राजनीति गर्न खोजेको भनेर उनीहरुलाई घुमाउरो तरिकाले धम्की दिन भ्याए ।
अहिले रुस–युक्रेन युद्धलगायतका कारण भारतमा कोइलाको सहज आपूर्ति हुनसकेको छैन । कोइलाको मूल्य अधिक बढेको छ । कोइलाको मूल्य बढ्नु र अभाव हुनको कारण भारतले आवश्यक अनुसार बिजुली उत्पादन गर्नसकेको छैन । भारतको बिहार सरकारले एक महिनादेखि नेपाललाई राति बिजुली दिनसकेको छैन । अब उसले दिउँसोको समयमा पनि बिजुली दिन नसक्ने जानकारी दिइसकेको छ । भारतबाट बिजुली नआउने भएपछि नेपालमा बिजुलीको संकट पर्नेछ ।
गर्मी बढ्न थालेसँगै नेपालका नदीहरुमा पानीको वहाव भर्खर बढ्न थालेको छ । गर्मी बढ्दै जाँदा हिमनदीमा पानीको वहाव बढेर बिजुली उत्पादन त बढ्छ तर नेपाललाई पुग्ने बिजुली उत्पादन गर्ने क्षमता अहिले पनि छैन । गर्मीको कारण खपत पनि बढी नै छ । भारतबाट बिजुली नल्याउँदा अहिले पनि नेपालमा बिजुली पुग्दैन यो कुरा सत्य हो । यो सत्यलाई कुलमानले कहिल्यै पनि बाहिर ल्याउन चाहेनन् । सरकारले पैसा दिने, भारतबाट बिजुली ल्याउने काम जारी राखे । तर उनले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेपछि अघिल्लो वर्ष पदबाट हट्ने भएपछि उनले आफूलाई एमडीबाट हटाउन लोडसेडिङ्ग पक्षधरले खोजेको भनेर झूटो प्रचार गराए । केपी ओली नेतृत्वको सरकार ढलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि उनी फेरि प्राधिकरणको एमडी बनेर आए । तर, अहिले भारतले पर्याप्त बिजुली दिन नसक्ने भएपछि लोडसेडिङ हुने अवस्था आएको छ त्यो पनि देशको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको उद्योगबाट ।
कोइलाको आपूर्तिमा भारतमा समस्या भइरहँदा उसले नेपालको माग अनुसार बिजुली दिन सक्नेछैन । अनि उद्योगमा मात्र होइन सर्वसाधारणको घरमा पनि लोडसेडिङ्ग गरेर बिजुलीको व्यवस्थापन गर्नुपर्ने हुनसक्छ । यद्यपि त्यो अवस्था अहिले नै आइसकेको भने छैन । यदि भारतमा कोइला आपूर्ति सहज हुन नसकेमा बिजुली उत्पादन कटौती हुन्छ । सहज आपूर्ति भएमा बिजुली उत्पादन बढ्छ र नेपालमा आपूर्ति बढ्छ र लोडसेडिङ हुँदैन । सत्य के हो भने नेपालमा अहिलेसम्म लोडसेडिङ नभएको भारतबाट बिजुली खरिद गरेर ल्याएर हो, कुलमानले विद्युत् प्राधिकरणको सिस्टम सुधार गरेर होइन ।
‘सरकारले वर्षेनी पैसा दिएपछि प्राधिकरणले भारतबाट बिजुली खरिद गरेर ल्याएर लोडसेडिङ हटाइएको हो’, प्राधिकरणकै एक अधिकारीले आर्थिक दैनिकसित भने, ‘अझै पनि हामी उत्पादन गरेर यो सुख्खायामको बिजुलीमा आत्मनिर्भर हुनसक्ने अवस्था छैन ।’ तर, कुलमानले भने आफूले लोडसेडिङ हटाएको बताउने गरेका छन् । तर, उनले सरकारले दिएको रकम भारत पठाएर त्यहाँबाट बिजुली खरिद गरेर ल्याएर लोडसेडिङ हटाएका हुन् ।
भारतमा गर्मीयाममा बिजुलीको माग बढ्छ । यही बेला कोइलाको कारण उत्पादनमा कटौती भएपछि भारतमा नै माग बढेपछि नेपालमा उसले बिजुली पठाउन कटौती गरेको हो । अहिले रातभर १२ घण्टा उद्योगमा लोडसेडिङ सुरु भएको छ । नेपालमा अहिले दैनिक १५ सय मेगावाट बिजुलीको माग छ । सबै आयोजना चलाउँदा पनि १२ सयभन्दा छैन । भारतबाट दैनिक तीन सय मेगावाट ल्याउनुपर्छ । त्यो ल्याउन नसकेपछि लोडसेडिङ गर्नुपरेको हो ।
स्वदेशमा उत्पादन नभएपछि भारतबाट बिजुली नआउँदा लोडसेडिङ हुन्छ नै । अहिले कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्य प्राधिकरणको एमडी थिए भने ओली सरकारले नियुक्त गरेको कारण लोडसेडिङ गरेको भनेर कुलमान र उनका पक्षधरले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत हंगामा मच्चाइसकेका हुन्थे ।
कुलमानले नभई भारतबाट बिजुली खरिद गरेर नेपालमा लोडसेडिङ हटाएको हो भनेर आर्थिक दैनिकले जहिले पनि सत्य लेख्दै आएको थियो । तर, उनले आर्थिकको समाचार झूट हो भनेर आफ्ना अनुयायीलाई प्रचार गर्न लगाए । तर, अहिले भारतबाट बिजुली नआएमा उद्योगमा मात्र होइन अरु क्षेत्रमा पनि लोडसेडिङ हुनसक्छ भनेर प्राधिकरणका एमडी कुलमान आफैँले बोल्न बाध्य भएका छन् । कुलमानको यो भनाइले लोडसेडिङ हटेको विषयमा आर्थिक दैनिकका समाचार सत्य र कुलमानको दाबी असत्य भएको पुष्टि भएको छ । कुलमानले बिजुली व्यवस्थापन गर्न नसक्ने र यही बेलामा पेट्रोलियम पदार्थको मूल्य बढ्दा उद्योगहरु उत्पादन गर्नै नसक्ने अवस्थामा पुगेका छन् । यसले देशको अर्थतन्त्रमा थप मार पर्ने निश्चित जस्तै छ ।