ब्रसेल्स । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियामा ग्यास निर्यात रोकेको छ । कम्पनीले रुसी मुद्रामा भुक्तानी गर्न अस्वीकार गरेको भन्दै ती देशमा ग्यास निर्यात रद्द गरेको जनाएको छ ।
कम्पनीका अनुसार रुबलमा भुक्तानी नभएसम्म ग्यास निर्यात ठप्प पारिनेछ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मित्रवत् व्यवहार नगर्ने देशहरुलाई ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने बताएका थिए । पोल्यान्डले रुसी कम्पनीले ग्यास निर्यात रोकेको पुष्टि गरे पनि बुल्गेरियाले यसबारे बताइसकेको छैन ।
देशहरुले पहिले नै आफूले लिने ग्यासको भुक्तानी गर्छन् । उक्त कम्पनीले गत महिना नयाँ खरिदका लागि रुबलमा भुक्तानी गर्नुपर्ने बताएको थियो । पुटिनले त चालू सम्झौताका बाबजुद पनि रुबलमै भुक्तानी गर्नुपर्ने अन्यथा सेवा रोक्ने चेतावनी दिएका थिए । मुद्रास्फीतिको सामना गरिरहेको रुबललाई बलियो बनाउन पुटिनको कदम थियो ।
योसँगै रुसले युरोपमाथि ग्यास आपूर्ति रोकेर आर्थिक दबाब सिर्जना गर्न खोजेको देखिएको छ । रुसले यस्तैखाले कदम अन्य देशमाथि पनि गर्नसक्ने देखिएको छ । यता पोल्यान्डले भने ग्याजप्रोमको ग्यासको विकल्प रहेको बताएको छ । यस्तैखाले परिस्थिति सामना गर्ने उपाय वर्षौँअघि सोचिसकेको पोल्यान्डका विदेशमन्त्री मार्सिन प्राडास्जले बताएको बीबीसीले उल्लेख गरेको छ । अब पोल्यान्डले अमेरिका वा खाडी देशहरुबाट ग्यास खरिद गर्ने सम्भावना छ ।
पोल्यान्डको सरकारी कम्पनी पीजीनिगले यो वर्षको पहिलो तीन महिनामा ग्याजप्रोमबाट आफ्नो कुल खरिदको ५३ प्रतिशत ग्यास लिएको थियो । कम्पनीले ग्याजप्रोमको निर्णयको आलोचना गर्दै सम्झौताविपरीत रहेको आरोप लगाएको छ ।
यता बुल्गेरियाले लिने ग्यास आपूर्तिको ९० प्रतिशत भर ग्याजप्रोमसँग नै रहेको छ । उसले पनि ग्याजप्रोमको विकल्प खोजिरहेको बताएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै अधिकांश युरोपेली देशले त्यसको विरोधस्वरुप रुसमाथि आर्थिक दबाब सिर्जना गर्दै आएका छन् । रुसले अहिले त्यही बदला लिनचाहेको हो ।