काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले भिडियो केवाईसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो केवाईसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो ।
सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाण्डे र डिजिटल नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् ग्लोबल आईएमई बैंकका ग्राहकहरूले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन् । बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकको विश्वास रहेको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरू ल्याउँदै आएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका दुई सय ८७ वटा शाखा, दुई सय ५२ वटा एटीएम, दुई सय ७५ वटा शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।