काठमाडौं । फरक राजनीतिक दलको झण्डा तथा चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसारको काम नगर्न उम्मेदावरहरूलाई निर्वाचन आयोगले आग्रह गरेको छ । मतदातालाई भ्रम सिर्जना हुने गरी फरक राजनीतिक दलको झण्डा तथा चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने उम्मेदवारलाई अयोगले कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।
निर्वाचन प्रचारप्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भएभन्दा फरक ढंगले झण्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झण्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानी कानुनबमोजिम कारबाही तथा सजाय हुने हुँदा निर्वाचन आचारसंहिताविपरीतका कार्य नगर्न नगराउन आयोग सबैमा आग्रह गर्दछ, सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वैशाख ३० गते हुने स्थानीय तह सदस्य स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवारबाहेक अन्य उम्मेदवारहरूले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आफूहरूलाई जानकारी तथा उजुरी आएको भन्दै आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण तथा निर्वाचन आचारसंहिता, २०७८ बमोजिम तीन फिट लम्बाइ र तीन फिट चौडौइको दलको झण्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने व्यवस्था रहेको हुँदा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने देखिने आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।