शंकर लुइँटेल
विराटनगर, फागुन ७
सुनसरीको दुहबी नगरपालिकामा सञ्चालित पशुपति बिस्कुट उद्योगमा त्यसका मालिकले करोडौँ रुपैयाँ बीमादाबीको लागि सेटिङमा आगलागी गरेको देखिएको छ । उक्त बिस्कुट उद्योग चौधरी समूहकै वसन्त चौधरीको हो । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी अधिकारीलाई प्रभावमा पारेर चौधरी समूहले पशुपति बिस्कुट उद्योगकै परिसरमा रहेको सीजी फ्लेक्सी प्याक र फ्लेक्जिवल प्याकेजिङ उद्योगमा समेत आगलागीले क्षति पु-याएको, आगलागीबाट बिस्कुट उद्योगलाई १० करोडभन्दा बढी क्षति भएको प्रहरी रिपोर्ट बनाइएको छ ।
उद्योग सञ्चालक चौधरी आफैँ उद्योगमा १० करोड क्षति भएको प्रमाणित गर्न इलाका प्रहरी कार्यालय दुहवी पुगेको दाबी स्थानीय बासिन्दाको छ । चौधरीको स्वामित्वमा रहेको पशुपति बिस्कुट पछिल्लो समय नेपाली सेनाले समेत खान छाडेको छ । लगानीअनुसार आम्दानी नभएपछि चौधरीले सेटिङमा आगजानी गरेको स्रोतको दाबी छ ।
जुन दिन उद्योगमा आगलागी भयो, सोही दिन उद्योगको साप्ताहिक विदा समेत परेको थियो । चौधरीले गत पुस २३ गते उद्योगमा आगलागी भएको दाबी गरेका छन् । उद्योगमा आगलागी हुँदा उद्योगी चौधरीका विश्वासिला कर्मचारीबाहेक अरु कसैको उपस्थिति नभएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार पशुपति बिस्कुट उद्योगका सञ्चालक चौधरीकै २७ प्रतिशतभन्दा बढी सेयर रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीको विराटनगर शाखाबाट बीमा दाबी गरिएको कारणले पनि आगलागीको घटना रहस्यमय बनेको हो । उद्योगी चौधरीको उद्योगमा बीमा दाबी गरिएअनुसारको क्षति नै नभएको त्यहाँ कार्यरत मजदुर स्रोतले बतायो । स्रोतले भन्यो, ‘सामान्य आगलागी भएको हो तर बीमा दाबीअनुसारको आगलागी बिस्कुट उद्योगमा भएकै छैन । सञ्चालक चौधरीले कसरी त्यत्रो बीमा दाबी गर्नुभयो त्यस विषयमा थाहा भएन ।’
युनाइटेड इन्स्योरेन्स कम्पनी विगतमा पनि उद्योगी चौधरीकै कारण विवादमा पर्दैै आएको छ । बीमा स्रोतले दिएको जानकारीअनुसार फायर पोर्टफोलियो अग्नि बीमा कारोबार प्रयोजनका लागि पशुपति बिस्कुट उद्योगमा आगलागी गरिएको हो । आफैँ बीमा दाबी गर्ने र आफ्नै स्वामित्वमा रहेको युनाइटेड इन्स्योरेन्समार्फत आफैँ बीमा भुक्तानी गर्ने अभिप्रायले पशुपति बिस्कुट उद्योगमा आगलागी गराइँदा अन्य व्यक्तिले बीमा गरेको रकम चौधरीले सजिलै कब्जा गर्न लागेका हुन् ।