काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले यही असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई सेयर निष्काशन अनुमति प्रदान गरेको हो ।
बोर्डको अनुमति पाएसँगै लघुवित्तले तीन करोड ३१ लाख रूपैयाँबराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । साधारण सेयर निष्काशनको लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा यसअघि नै तोकिसकेको छ ।
वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२ दशमलव १० प्रतिशतबराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङमा रजिस्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरू र दुईवटा उपशाखाहरू स्थापना गरी सेवाग्राहीहरूलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।