काठमाडौं । पुष्पतारा केडिया सेवा फाउन्डेसनले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, वीरगञ्जलाई एसएमएल आईसुजु बस हस्तान्तरण गरेको छ । फाउन्डेसन सामाजिक सेवा गर्ने उद्देश्यले पाँच वर्षअगाडि ताराचन्द केडिया तथा पुष्प केडियाको नामबाट स्थापना गरिएको संस्था हो । यस संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग र सेवा गर्दै आइरहेको छ ।
समाजिक सेवा भावले महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टद्वारा स्थापित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल नारायणीकै जेठो आँखा अस्पताल हो । यसको ई.सं. १९७५ सालमा स्थापना भई हालसम्म सेवा दिँदै आएको छ । पुष्पतारा केडिया सेवा फाउन्डेसनद्वारा हस्तान्तरण गरिएको यो बसद्वारा असहाय, गरिब तथा सेवाबाट वञ्चित बिरामीहरुलाई यातायातको सहज सुविधा हुने फाउन्डेसनको विश्वास छ ।
फाउन्डेसनका संरक्षक मनोज केडियाले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल वीरगञ्जलाई उपचारमा अझ गुणस्तर कायम गरी बढीभन्दा बढी आँखा बिरामीहरुको उपचार सहज र सरल रुपमा गराउन तथा सेवा सुविधाहरुको पहुँच विस्तार गरी हरेक बिरामीहरुलाई उपचारपश्चात् खुसीको सास फेर्ने र विश्व हेर्ने दृष्टि प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा पुष्पतारा केडिया सेवा फाउन्डेसनका पदाधिकारीहरु तथा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, वीरगन्जको उपस्थिति रहेको थियो । कार्यक्रम पुष्पतारा केडिया सेवा फाउन्डेसनमा आयोजना गरी हस्तान्तरण गरिएको थियो ।