काठमाडौं । सामाजिक सुरक्षा कोषले तयार पारेको ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएको छ । कोषका योगदानकर्ता लक्षित उक्त निर्देशिका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आइतबार स्वीकृत गरेका हुन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्थाबमोजिम उक्त निर्देशिका तयार पारिएको हो । उक्त निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधिको आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गरिनेछ । घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिबाट जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी दिइनेछ । त्यसमध्ये पहिलो विधिअनुसार, धितोका आधारमा ७५ लाख रुपैयाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलब रहेका छन् ।
त्यस्तै, योगदानकर्ता शैक्षिक सापटीको व्यवस्था उक्त निर्देशिकाले गरेको छ । कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । त्यस्तो सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लािग सापटी प्रदान गर्न सकिने उल्लेख छ । त्यस्तो रकम ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइनेछ । विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, होस्टेल वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च, ट्राभल तथा बीमा खर्च उक्त सापटीमा रहनेछ । योगदानकर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः प्रदान गर्न सकिनेछ ।
कोषले यसै महिनादेखि सामाजिक सुरक्षा कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रवाह प्रारम्भ गरिने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनामार्फत सेवा दिँदै आएको छ । कोषमा हालसम्म १७ हजार एक सय ९२ जना रोजगारदाता र तीन लाख ४६ हजार सात सय ४४ जना योगदानकर्ता सूचीकृत रहेका छन् । २१ अर्ब आठ करोड योगदान रकम संकलन भएको छ भने एक अर्ब ६५ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी रकम रहेको छ । यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २३ करोड रुपैयाँ, दुर्घटना र अशक्तता सुरक्षा योजनामा दुई करोड ३१ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा तीन करोड ७४ लाख रुपैयाँ र वृद्ध अवस्था सुरक्षा योजनामार्फत सेवा एक अर्ब ३६ करोड रुपैयाँ दाबी गरिएको छ ।