ब्रसेल्स । युक्रेन युद्धलाई लिएर युरोपमा तनाव जारी रहेका बेला चीन र युरोपेली संघबीच व्यापार वार्ता हुँदै छ । सिनजियाङमा मानवअधिकारका मुद्दालाई लिएर सशंकित बनेको संघले अर्थतन्त्र र व्यापारका विषयलाई केन्द्य्रमा राखेर बेइजिङसँग उच्चस्तरीय वार्ता गर्न लागेको हो ।
यो बैठक गत अप्रिलमा तनावपूर्ण संघ–चीन शिखर सम्मेलनपछि आज हुनलागेको हो । बैठकको मिति निर्धारण गर्न महिनौँसम्म प्रयास भएको थियो । शिखरवार्ताका क्रममा सहमति नहुँदा संयुक्त वक्तव्य सार्वजनिक भएको थिएन जसले सम्बन्ध चिसिएको संकेत गर्दछ । युक्रेन मुद्दामा पनि संघ र चीनबीच मतभिन्नता छ । मानवअधिकार र युक्रेन युद्धलाई लिएर चीनले छलफल गर्न चाहेको छैन ।
युक्रेनमा रूसले सैन्य कारबाही सुरु गरेदेखि नै संघले तत्काल युद्धविराम गर्न तथा त्यस निम्ति मस्कोसँग आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आह्वान गर्दै आएको छ । चीनले मस्कोलाई सैन्य सहायता गर्नुहुँदैन भन्ने पक्षमा संघ छ ।
यसैबीच, युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष वाल्डिस डोम्ब्रोभस्किसले चीनका उप–प्रधानमन्त्री लिउ हेसँगै बैठकको सह–अध्यक्षता गर्न तत्पर रहेको बताएका छन् । आजको बैठकमा द्विपक्षीय मामिलाका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा पनि छलफल हुनेछ ।