काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ओमानबाट नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न ओमानका लागि नेपाली राजदूतलाई आग्रह गरेको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग नेपालमा लगानी र पर्यटक दुवै भित्र्याउन भूमिका खेल्न आग्रह गरेका हुन् । आर्थिक हिसाबले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेको भन्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताए । यसका लागि नेपाली राजदूतावासले पहल गर्नुपर्ने उनको भनाइ थियो । ओमानसँग नेपालको कूटनीतिक सम्बन्ध निकै पुरानो रहे पनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आकर्षित गर्न नसकिएको अध्यक्ष मल्लले बताए । ‘एसियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ’, उनले भने, ‘त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरी महामहिम राजदूतले भूमिका निर्वाह गरिदिनुप-यो ।’
ओमानसँग नेपालको व्यापारघाटा उच्च रहेकाले पर्यटन र लगानीमार्फत व्यावसायिक सम्बन्ध विस्तारमा अध्यक्ष मल्लले जोड दिए । ओमानमा नेपाल हाउस खोल्नका लागि पहल गर्न पनि मल्लले आग्रह गरे । ओमानमा कार्यरत नेपालीलाई लक्षित गरी उनीहरुका लागि आवश्यक खाद्यान्न, लत्ताकपडालगायत वस्तुहरु नेपालबाटै आपूर्ति गर्ने व्यवस्थासहितको नेपाल हाउस खोल्न सकिए आर्थिक गतिविधि बढ्ने र व्यापारघाटा कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । ओमानबाट मासिक दुई अर्ब रुपैयाँ रेमिट्यान्स आइरहेको भन्दै अध्यक्ष मल्लले नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण समेत गराए ।
भेटमा राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताए । ओमानमा कार्यरत एक नेपालीबराबर एक ओमानी नागरिक नेपाल भित्र्याउने अभियान सुरु गर्ने तथा नेपाल हाउस स्थापनाका लागि आफूले पहल गर्ने अर्यालको भनाइ छ । राजदूत अर्याल कार्यभार सम्हाल्नका लागि बिहीबार ओमान जाँदै छन् ।