अमेरिका । अर्बपति इलोन मस्कको प्रस्तावित खरिद सम्झौताका लागि ट्विटरले तीन करोड ३० लाख अमेरिकी डलर खर्च गरेको पाइएको छ । चर्चित सामाजिक सञ्जालले अप्रिल र जुन महिनाको बीचमा उक्त रकम खर्च गरेको बीबीसीले जनाएको छ । यसबाहेक ट्विटरका दैनिक प्रयोगकर्तासमेत बढेर २३ करोड ७० लाख पुगेका छन् । यसका बाबजुद ट्विटरले भने २७ करोड डलर खुद नोक्सानी भोगेको जनाएको छ । यसलाई सोचेभन्दा खराब मानिएको छ ।
त्यसयता मस्कले भने ट्विटर खरिदको मनस्थिति नै बदलेका छन् । उनले नकिन्ने भनेपछि ट्विटर अहिले अदालत गएको छ । यसको सुनुवाइ अक्टोबरका लागि तोकिएको छ । ट्विटरले मस्कले यो खरिद सम्झौता लत्याउन नसक्ने दाबी गर्दै आएको छ । सम्झौता लत्याए त्यसबापत एक अर्ब डलर तिर्नुपर्ने भनिएको छ । ट्विटरले पछिल्लो वित्तीय परिणामबारे खुलाउन चाहेको छैन । ट्विटरले प्राप्ति अड्किएको अवस्थामा अप्रिलदेखि जुनसम्मको विवरण सार्वजनिक गर्न मानेको छैन ।
मस्कले ट्विटरले झूठा एकाउन्टबारे विवरण नदिएको कारण देखाउँदै खरिद सम्झौताबाट पछि हट्नलागेको बताएका थिए । तर ट्विटरले भने मस्कले निहुँ मात्र झिकेको आरोप लगाएको छ । सन् २०२१ मा ट्विटरको राजस्व पाँच अर्ब अमेरिकी डलर थियो । तर पछिल्ला १२ महिनामा यसको सेयर मूल्यमा ४५ प्रतिशतले गिरावट आएको छ ।