लन्डन । सोमबार अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य फेरि बढेको छ । युक्रेनी बन्दरगाह ओडिसामा रुसले क्षेप्यास्त्र हान्ने डरले गहुँको मूल्य बढेको रोयटर्सले जनाएको छ ।
गत सप्ताहान्तमा मात्रै गहुँ निर्यातको लागि करिडोर खुल्ला गर्ने सम्झौता भएको थियो । तर यो सम्झौता नै संकटमा परेको बताइएको छ । रुस, युक्रेन, संयुक्त राष्ट्रसंघ र टर्कीले शुक्रबार तीन युक्रेनी ब्ल्याक सी बन्दरगाह अन्नअनाज निर्यातका लागि खुल्ला गर्ने सम्झौता गरेका थिए । उनीहरुले एक सय २० दिनका लागि यस्तो सम्झौता गरेको बताइएको छ ।
सम्झौताअनुसार प्रतिमहिना ५० लाख टन निर्यात हुने अपेक्षा गरिएको थियो । तर रुसी क्षेप्यास्त्रको डरले फेरि गहुँको मूल्य बढ्न पुगेको छ । सिकागो बोर्ड अफ ट्रेडमा गहुँको मूल्य झण्डै चार प्रतिशतले बढेर ७.८६ डलर प्रतिबुसेल (मापनको आधार) पुगेको बताइएको छ । गत शुक्रबार भने छ प्रतिशतले घटेको थियो ।
फेब्रुअरीमा रुसले आक्रमण गरेयता युक्रेनी बन्दरगाहहरु बन्द छन् । यसले केही अन्न निर्यातमा कठिनाइ भएको छ । यही कारण अहिले विश्वका अधिकांश देशमा मूल्यवृद्धि चुलिएको छ ।