काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ६ गते अर्थात् आज सोमबार पुनः १२ अर्ब १३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही साउन ३० गते पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति भदौ ७ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ असोज ४ गते, ९१ दिनेको २०७९ मंसिर ६ गते, एक सय ८२ दिने अवधिको २०७९ फागुन ९ गते र तीन सय ६४ दिने अवधिको २०८० भदौ ५ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरीमा सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रु.पैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।