सोलुखुम्बु, फागुन १६
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्ताले क्षेत्रमा वन फँडानी बढ्दै गएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । वातावरणीय प्रभावलाई कुनै वास्ता नगरी वन फँडानी हुन थालेको भन्दै सो क्षेत्रका स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । जिल्लाको पत्ताले क्षेत्रबाट पछिल्लो समय दैनिक दर्जनौँ ट्रक सल्ला प्रजातिका गोलियाहरू निकासी हुने गरेको स्थानीय राजेश मगरले बताए । जिल्लालाई सडक सञ्जालले जोडेसँगै सो क्षेत्रबाट सल्लाका गोलियाहरू ट्रकका ट्रक निकासी हुँदा वातावरणलाई प्रभाव पर्ने स्थानीयको भनाइ छ । रूख कटान यही गतिमा बढ्दै जाने हो भने अबको ५ वर्षमा यस क्षेत्रमा हरियाली देख्न मुश्किल पर्ने स्थानीय ङिमा शेर्पाले गुनासो छ । सडक सञ्जालको विस्तार भएसँगै जिल्लामा ५ वटा काठमिल सञ्चालनमा छन् ।
मिलमा प्रयोग भएको भन्दा दोब्बर मात्रामा गोलियाबाहिर निकासी हुनेगरेको तिङ्लाका निरकुमार नेपालीले जाकारी दिए । जिल्लाको तिङ्ला, सोलुदुधकुण्ड नगरपालिका क्षेत्रका विभिन्न व्यक्तिको निजी जंगलबाट रूख कटान तथा निकासी हुनेगरेको छ । अधिकांश भिरालो जमीनमा समेत सानाठूला सबै रूख काटेको स्थानीय बताउँछन् । यसले पहिरोको उच्च जोखिम बढेको स्थानीय रमेश मगरको भनाइ छ । डिभिजन वन कार्यालय सोलुखुम्बुका वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले नियमविपरीत कसैलाई पनि काठ काट्ने अनुमति नभएको बताए । उनले ४० इन्चभन्दा कम मोटाइ भएको रुख भने काट्न नदिएको दाबी गरे । संविधानको धारा २५ को उपधारा (१)मा उल्लेख भएअनुसार प्रत्येक नागरिकलाई कानुनको अधिनमा रहेर सम्पत्ति आर्जन गर्न भोग गर्न, बेचबिखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ । तर सोही धाराको उपधारा ४ मा भूमिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, कृषिको अधुनिकीकरण र व्यवसायीकरण, वातावारण संरक्षण, व्यवस्थित आवास तथा सहरी विकास गर्ने प्रयोजनका लागि राज्यले कानुनबमोजिम भूमि सुधार, व्यवस्थापन र निमयन गर्न बाधा पर्ने छैन भनिएको छ । जिल्लाको कुल भू–भागमध्ये ३३ प्रतिशत अर्थात् एक लाख दश हजार नौ सय २२ हेक्टर वन क्षेत्र रहेको छ ।
जसमध्ये जिल्ला वन कार्यालयमा दर्ता भएका एक सय ३३ निजी वनले एक सय ४६ हेक्टर क्षेत्रफल ओगटेको छ, भने एक सय ९२ सामुदायिक वनले २९ हजार दुई सय ६९ दशमलव ७९ हेक्टर क्षेत्रफल ओगटेको छ । यस्तै, दुईवटा धार्मिक वनको ६७ दशमलव ५६ हेक्टर, राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको एक लाख ६० हजार २१ हेक्टर क्षेत्रफल रहेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक लाख क्युफिट काठ कटानीबाट करिब १३ लाख रूपैयाँ राजस्व सकंलन भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । निजी वनधनीहरूले व्यावसायिक प्रयोजनका लागि काठ कटान गरेबापत १३ प्रतिशत भ्याट राज्यलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।