काठमाडौं । भारतीय अर्बपति गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । उनले अमेरिकी अर्बपति जेफ बेजोसलाई उछिनेका हुन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अदानीसँग अहिले एक खर्ब ४६ अर्ब डलरको सम्पत्ति छ । विश्वको सबैभन्दा धनी इलोन मस्कसँग दुई खर्ब ६३ अर्ब डलरको सम्पत्ति छ ।
अदानी इन्टरप्राइजेज लिमिटेडको सेयरको भाउ उल्लेख्यरुपमा बढेसँगै अदानी विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका हुन् । अदानीका केही ग्रुप कम्पनीको सेयर भाउ सन् २०२० यता एक हजार प्रतिशतले बढेको छ ।
बेजोसका सम्पत्ति अदानीभन्दा एक करोड ९० लाख डलर मात्र कम छ। पछिल्लो समय उनको अमेजन कम्पनीको सेयरको भाउ घटेसँगै उनी सम्पत्तिको मामिलामा पनि अन्य अर्बपतिको तुलनामा पछि परेका हुन् । अदानी गत फेब्रुअरी महिनामा अर्का भारतीय अर्बपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए ।
अप्रिलमा विश्वका एक सय अर्बपतिको सूचीमा अटाएका उनले पछिल्लो दुई महिनामा बिल गेट्स र फान्सका बर्नार्ड अर्नल्टलाई पछि पारिसकेका छन् । शीर्ष अर्बपतिको सूचीमा एसियाली व्यक्ति आइपुगेको यो पहिलोपटक हो ।