लन्डन । सिरियास्थित संयुक्त राष्ट्र संघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कार्यालयका प्रमुखलाई लाखौँ डलर दुरुपयोग गरेको आरोप लागेको छ ।
उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्यूएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन् ।
एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेको सयभन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञसँग सम्झौता गर्न कर्मचारीलाई दबाब दिएकी तथा लगातर गलत ढङ्गले कोष र दाताले दिएको रकम दुरूपयोग गरेको वयान दिएका भेटिएको छ ।
कर्मचारीले अनुसन्धानकर्तालाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्ताबेज एपीले हात पारेको हो ।
म्याग्टिमोभाले उनीमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छन् । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकी बताइएको छ । यद्यपि उनले ती आरोपलाई अपमानजनक भनेकी छन् ।