काठमाडौं । एनएमबी बैंकले नेपालकै अहिलेसम्मको ठूलो १० करोड अमेरिकी डलर वैदेशिक ऋण डीएफसी स्वीकृत गरेको जानकारी दिएको छ । यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ क्षेत्रको उक्त ऋण बैंकलाई स्वीकृत दिएको बैंकले जानकारी दिएको छ ।
डीएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानका लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो । एनएमबी बैंक र डिएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलतामार्फत आत्मनिर्भरताको लागि महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्नेछ । एनएमबी बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो ।
हालको बैंकिङ तरलताको परिदृश्यमा, यसरी देशमा भित्रिने बाह्य वित्तीय स्रोतले देशकै आवश्यकताअनुरूप उत्पादनमूलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको छ । एनएमबी बैंकले जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पुँजीको लागी डीएफसीसहित हालसम्म नौ डेभलपमेन्ट फाइनान्सियल इन्सिटच्युसन (डीएफआइए)बाट कुल ३०१ दशमलव ५० मिलियन अमेरिकी डलर ऋण भित्र्याइसकेको छ । एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि’ बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।