काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिट्डले आफ्ना अभिकर्ताहरूका लागि लागि तीनदिने (२०७९ कात्तिक १९ देखि २१ गतेसम्म) ‘लिडर्स नाइट वीथ पारस खड्का’ कार्यक्रम काठमाडौंस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०७९ श्रावण महिनामा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई कम्पनीका ब्रान्ड एम्बेसडर समेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्य समेतले कार्यक्रम सम्पन्न गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कम्पनीका ब्रान्ड एम्बेसडर पारस खड्काले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।
देशैभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब एक सय जना वरिष्ठ अभिकर्ताकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्किल डेभलपमेन्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । यसैगरी तोकिएको लक्ष्य पूरा गरी कार्यक्रममा सहभागी हुन सफल अभिकर्ताहरूको अथक परिश्रम र मिहिनेतको कदर गर्दै उनीहरूलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्रान्ड एम्बेसडर पारस खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याइपु-याउन आफ्नोतर्फबाट गरेको मिहिनेत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराएका थिए । साथै उनले नेसनल लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध भई कार्यक्रममा सम्मानित बिजनेस लिडरहरूसँग साक्षात्कर हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउँदै सहभागी अभिकर्ताहरूलाई बधाई समेत दिएका थिए । कार्यक्रममा सहभागी अभिकर्ताहरूले पारस खड्काको उपस्थिति र अनुभवबाट आफूहरू उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पु-याउने विश्वास व्यक्त गरेका थिए ।