काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बुधबारदेखि छैटौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । यसै उत्सव पारेर कम्पनीले वार्षिकरूपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरूको उज्ज्वल भविष्य (शिक्षा)का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ । उल्लिखित उद्देश्यअन्तर्गत कम्पनीले नेपालका ७७ जिल्लाभरि कुल ८४ विद्यालय सञ्चालन गरिरहेको गैरनाफामूलक गैरसरकारी संस्था समता शैक्षिक गुठीलार्ई पाँच लाख रकम सहयोग प्रदान गरेको छ ।
समता शैक्षिक गुठीअन्तर्गतको समता विद्यालय, जोरपाटीमा बुधबार कार्यक्रमबीच उक्त गुठीका कार्यकारी निर्देशक श्री दिपक संजेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील), शिक्षक शिक्षिका, विद्यार्थीहरू तथा अन्य कर्मचारीहरूको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत उच्च व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।
गतवर्ष पनि कम्पनीले गैरनाफामूलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । यस गुठीले सञ्चालन गरेको शैक्षिक संस्थाहरूमा न्यूनतम रकम (मासिक १००) मै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए । न्यून आय भएका अभिभावकका बालबालिकालाई अति न्यून रकममा गुणस्तरीय शिक्षा प्रदान गर्न समता शैक्षिक गुठीले गरेको कार्यलाई सबै क्षेत्रबाट साथ सहयोगको आवश्यकता रहेको गुठी सञ्चालक सदस्य दिपक संजेलले जनाए ।