काठमाडौं । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको व्यक्ति मात्र बैंकिङ क्षेत्रमा सञ्चालक हुन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, पूर्वाधार विकास बैंक र लघुवित्त संस्थाहरुको नाउँमा छुट्टाछुुट्टै परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
परिपत्रअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप गर्दै टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति सञ्चालक हुन पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । यो व्यवस्थाअनुसार अबदेखि प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भइसकेको व्यक्ति सञ्चालक हुन पाउनेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाइ पाएको पाँच वर्ष व्यतित नभइसकेको व्यक्ति कुनै पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा सञ्चालक हुन योग्य हुनेछैनन् ।
राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप गर्दै चोरी, ठगी, भ्रष्टाचार वा अन्य फौजदारी अभियोग तथा बैंकिङ कसुरमा सजाय नपाएको व्यक्ति मात्र पूर्वाधार विकास बैंकमा सञ्चालक हुन पाउने व्यवस्था गरेको छ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित नभइसकेको व्यक्ति मात्र सञ्चालक हुन पाउनेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित नभइसकेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप गर्दै टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र लघुवित्त वित्तीय संस्थामा सञ्चालक हुन पाउने व्यवस्था गरेको छ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भइसकेको व्यक्ति लघुवित्त सञ्चालक हुन पाउनेछ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतित भई नसकेको व्यक्ति कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुमा सञ्चालक हुन नपाउने संशोधित व्यवस्थामा उल्लेख छ ।