काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वर्षे अवधिको पाँच अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार पुस ५ गते मंगलबार अपराह्न २ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८३ ‘ज’ (४) वर्षे बिक्री गर्न लागिएको हो ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति पुस ६ तोकिएको छ भने ऋणपत्रको परिपक्व हुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८३ पुस ६ गते तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब पाँच करोड र ७५ करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाकोरुपमा मात्र भाग लिन व्यवस्था रहेको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउनेछैनन् ।
ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
पुनः १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ४ गते अर्थात् सोमबार पुनः १७ अर्ब ५३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही मंसिर ६ गते पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति पुस ५ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०७९ चैत ७ गते, एक सय ८२ दिने अवधिको २०८० असार ५ गते र तीन सय ६४ दिने अवधिको २०८० पुस ३ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने ती ट्रेजरीमा सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।