अमेरिका । फेसबुकको मातृकम्पनी मेटाले क्याम्ब्रिज एनालिटिका डेटा चुहावट प्रकरणमा परेको मुद्दा सल्टाउने भएको हो । यसका लागि कम्पनी साढे ७२ करोड अमेरिकी डलर तिर्न तयार भएको अमेरिकी केबल न्युज नेटवर्कले जनाएको छ । मेटाले आफ्नो निजी मामिलाबारे प्रयोगकर्तालाई ढाँटेको र उनीहरुको व्यक्तिगत विवरणमा क्याम्ब्रिज एनालिटिका र अन्य थर्डपार्टीहरुलाई पहुँच दिएको भन्दै मुद्दा परेको थियो । प्रस्तावित सहमतिसँगै चार वर्षअघि सुरु भएको कानुनी लडाइँ अन्त्य हुने विश्वास गरिएको छ । क्याम्ब्रिज एनालिटिकाले आठ करोड ७० लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत सूचना चुहाएको थियो । क्याम्ब्रिज एनालिटिका एउटा तथ्यांक विश्लेषक कम्पनी हो जसले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारमा सहकार्य गरेको थियो । तथ्यांक चुहावट फेसबुकको ठूलै टाउको दुःखाइ बनेको थियो । योसँगै नियामकीय अनुसन्धान अघि बढेको थियो । फेसबुकका अहिले र पहिलेका धेरै कर्मचारीलाई यो मुद्दामा विपक्षी बनाइएको थियो । फेसबुकसँग मुद्दा सल्टाउन सहमत भएका प्रयोगकर्ताहरुले यसप्रति खुसी व्यक्त गरेको बताइएको छ । बिहीबार नै यससम्बन्धी प्रस्ताव दर्ता गरिएको छ । योसँगै साढे दुई करोडदेखि दुई करोड ८० लाख मानिस भुक्तानीको लागि योग्य हुने भएका छन् । तर यो प्रस्तावले न्यायाधीशबाट स्वीकृति भने पाउन बाँकी नै रहेको छ ।