काठमाडौं । सेयर बजारमा नयाँ सरकार गठनको प्रभाव सकारात्मक देखिएको छ । नयाँ सरकार गठन भएको पहिलो दिन झण्डै ५७ अंकले बढेर दुई अर्ब रुपैंयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । नयाँ सरकार गठन भएको दोस्रो दिन आज मंंगलबार पनि सेयर बजार परिसुचक एवं कारोबार रकम दुबै उच्च अंकले बढ्न सफल हुनुले पनि सेयर बजारमा नयाँ सरकार गठनको प्रभाव सकारात्मक देखिएको हो । सो अनुसार बजार परिसुचक ५९ दशमलव ८७ अंकले उकालो लागेर १९ सय ८३ दशमलव ९५ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले उकालो लागेर तीन सय ८६ दशमलव पाँच बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६१ वटा कम्पनीहरुको ६३ हजार ६७ पटक सेयर किनबेच भएको छ । जसअनुसार एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार नौं सय ९७ रुपैैंयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।