काठमाडौं । सनराइज बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार उद्योग वाणिज्य भवन जुम्लामा पुस १४ गते आयोजित एक कार्यक्रमका बीच बैंकका कार्ड तथा ई–बैंकिङका प्रमुख मनोज घिमिरे, ब्रान्ड व्यवस्थापन तथा सीएसआर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडक प्रसाद देवकोटाको उपस्थितिमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । उक्त वित्तीय साक्षरता कार्यक्रममा एक सय २० विद्यार्थी र स्थानीयको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।
अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरूवात जुम्लाबाट गरेको जानकारी दिएको छ । डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मिस्डकल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानीलगायतका अत्याधुनिक बैंकिङ उपकरणहरूको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने तथा सुरक्षित बैंकिङ कसरी गर्ने भन्ने बारेमा जानकारी दिइएको थियो ।