काठमाडौं । नेपाल टेलिकमले मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मंगलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा अवरुद्ध हुन गएको थियो । कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै टेलिकमले त्यसको प्रणालीगत सुधार गर्ने जनाएको छ ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार बुधबार एक विज्ञप्ति जारी गरी प्राविधिक समस्याका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरूको संख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकले असजिलोपन व्यहोर्नुप¥यो, यसरी प्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।’ सेवाग्राहीलाई अविच्छिन्न, निर्बाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाउँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान गर्ने टेलिकमको प्रतिबद्धता छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले ग्राहकहरुलाई आग्रह गरेको छ ।