काठमाडौं । यससाता सेयर बजार परिसूचक दुई हजार एक सय ७८ दशमलव ८१ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय १५ दशमलव पाँच विन्दुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुई सय ५० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ९१ हजार सात सय ३२ पटकको कारोबारमा तीन करोड ३४ लाख ३५ हजार ७३ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ६९ करोड ८० लाख ३८ हजार पाँच सय २० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १२ अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ५९ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ४३ हजार ८८ पटकको कारोबारमा छ करोड ४१ लाख चार हजार एक सय पाँच कित्ता सेयर खरिदबिक्री हुँंदा कुल कारोबार रकम २३ अर्ब ९१ करोड छ लाख ८१ हजार एक सय ५८ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा तीन कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो र दोस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने तेस्रो र पाँचौँ कारोबार दिन बजार परिसूचक उकालो लागेको थियो । चौथो दिन भने बजार परिसूचक ओरालो लागेको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको तेस्रो कारोबार दिन बजार परिसूचक ३२ दशमलव ७२ अंकले उकालो लागेर दुई हजार एकसय ८२ दशमलव ११ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि चार दशमलव ५८ अंकले उकालो लागेर चार सय १५ दशमलव ८३ विन्दुमा चढेको चढेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक नौ दशमलव एक अंकले ओरालो लागेर दुई हजार एक सय ७३ दशमलव १० विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले ओरालो लागेर चार सय १३ दशमलव ९० विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक पाँच दशमलव ७१ अंकले उकालो लागेर दुई हजार एक सय ८१ दशमलव ८१ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १५ अंकले उकालो लागेर चार सय १५ दशमलव पाँच विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा रिडी हाइड्रोपावर कम्पनी, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।