काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । लघुत्तिले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने व्यवस्था लागू गर्न उक्त सम्झौता गरेको हो ।
सम्झौतापत्रमा निर्धन उत्थान लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात् निर्धन उत्थान लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेससँग जोडी नेसनल पेमेन्ट स्वीचअन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछ ।
यसअन्तर्गत निर्धन उत्थान लघुवित्त एनसीएचएल आईपीएस र आरपीएस कनेक्ट आईपीएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता सङ्कलनलगायतका विभिन्न सङ्कलनका करोबारहरू तथा तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरूबीच सोझै गर्न सक्नेछ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको लक्ष्यमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरूलगायतका ८० गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । १९९९ मा स्थापित निर्धन उत्थान लघुवित्तले माइक्रोफाइनान्स सम्बन्धित सेवाहरू जस्तैः बचत तथा ऋण प्रदान, माइक्रो बीमा तथा रेमिट्यान्सलगायतका सेवाहरू नेपालका निम्न आय वर्गका परिवारहरूलाई प्रदान गर्दै आएको छ ।
निर्धन उत्थानले आफ्नो सामूहिक नेटवर्कमार्फत लेन्डिङ मोडल पछ्याउँदै नेपालको सम्पूर्ण ७७ वटै जिल्लामा एक सय ८५ वटा शाखाहरू फैलाएको छ र चार लाख दुई हजार चार सय १४ घरधुरीलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।