काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा बिहीबार भैरहवामा सम्पन्न भएको छ । सो सभाले सेयरधनीहरूलाई आठ दशमलव ९७ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को लागि सो बोनस शेयर दिने भएको हो । बोनस सेयर वितरण गर्दा लाग्ने करबापतको रकम सेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको हालको सेयर संरचनाबमोजिम कायम रहेको चुक्ता पुँजीअनुरुप संस्थापक समूहतर्फको ७० प्रतिशत सेयरमध्ये १९ प्रतिशत सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक–आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौतापत्र, कम्पनीको सेयर रोक्का राख्ने गरी भएको निर्णय, कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य गर्न लेखापरीक्षक/परामर्शदाता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने गरी भएको सञ्चालक समितिको निर्णयहरू समेत सभाले अनुमोदन गरेको छ । त्यस्तै सभाले सञ्चालक समिति तथा उपसमितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र लेखापरीक्षककोे नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । साथै कम्पनी ऐनबमोजिम आव २०७७।/०७८ मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त वार्षिक साधारणसभामा सभाको अध्यक्ष्यता गरेका सञ्चालक सन्दिप कुमार अग्रवालले मन्तव्य राख्दै आगामी दिनमा कम्पनीका सेयरधानीहरूलाई अधिकतम प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जानकारी गराउँदै कम्पनी मर्जरपछि पनि निरन्तर सेयरधनीहरूको हितमा कार्य गर्ने बताए ।
यसैगरी सञ्चालक सचिन आचार्यले सेयरधनीहरूलाई विश्वासलाई सदैव सम्मान गर्दै अघि बढ्ने बताए । यस्तै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले आगामी दिनमा कम्पनीको कामकारबाहीलाई प्रभावकारी बनाई नयाँ उचाइमा पु-याउने जानकारी गराए । सो साधारणसभाको अध्यक्षता सञ्चालक सन्दिप कुमार अग्रवालले गरेका थिए भने सभाको सञ्चालन कम्पनी सचिव ईश्वर कुमार सेडाईले गरेका थिए ।
सभामा कम्पनीको उच्च व्यस्थापनबाट उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, नायब महाप्रबन्धक माधव प्रसाद शर्मा, प्रादेशिक प्रमुखहरूलगायत अन्य सेयरधनीहरूको सहभागिता रहेको थियो ।